काठमाडौं। वाम एकता र तालमेलको आफ्नो प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत ओलीले अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन्।
शनिबार नेचिफ्स संस्थाले ‘नेपालको भुराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो’ विषयमा कार्यक्रमा श्रेष्ठले ओलीसमक्ष वाम एकता र तालमेलको प्रस्ताव राखेका थिए।
उनले नेपालका वामपन्थी शक्तिहरुले एक अर्कालाई कमजोर पार्ने र सिध्याउने नीतिलाई नै निरन्तरता दिने हो भने वामपन्थी आन्दोलन नै धराशायी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त बन्ने खतरा बढाउने बताएका थिए।
वामपन्थी शक्तिहरु बीचको तालमेल, मोर्चा र एकताको आवश्यकता रहेको औंल्याउँदै उनले सबै सम्बन्धित पार्टी र नेताहरुलाई देश, जनता र वाम आन्दोलनलाई केन्द्र बिन्दुमा राख्दै बिनम्रतापुर्वक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेका थिए।
श्रेष्ठपछि बोलेका ओलीले को छ अरु बामपन्थी पार्टी ? भन्दै एमाले मात्र वामपन्थी भएको अभिव्यक्ति दिए। ओलीको यहीँ अभिव्यक्तिमा श्रेष्ठ रिसाएका हुन्।
दुईपटक संसद विघटन गरेर एमालेको विश्वसनीयतामा प्रश्न उठेको अवस्थामा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत नभएको श्रेष्ठको भनाइ छ। यसले अहम त तुष्टी गरे पनि देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान नपुर्याउने श्रेष्ठले बताएका छन्।
श्रेष्ठले आम नेता, कार्यकर्ता र बुद्धिजीवीहरुलाई ‘आफ्नो पक्ष’ को अन्धतापुर्वक समर्थन र वकालत्त गर्ने वकील जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बन्न र ठीकलाई ठीक बेठीक लाई बेठीक भन्ने साहास तथा संस्कृति प्रदर्शन गरौं भन्ने अपील गरेका थिए।
आफुले वाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकील जस्तो मात्र नहुन उपरोक्त अपील गर्दा समेत हलमा उपस्थितहरुले कर्तल्ध्वनीका साथ ताली बजाएर समर्थन गरेका थिए।
तर, उनीहरुले नै ओलीले अहँकारको प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्ने गरी बोल्दा पुनः अझ जोडले ताली बजाएकोमा श्रेष्ठले दुखेसो पोखेका छन्। उनले भनेका छन्, ‘यसले वाम तालमेल र एकतालाई सहयोग पु।्याँउछ त? पुर्याउँदैन। हामी कहिले सच्चिने होला? गंभीरतापूर्वक सोचौं।’
उनले राजनीतिलाई व्यक्ति वा समुह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै रहेको उल्लेख गरेका छन्।
त्यसका निम्ति सम्बन्धित सबैले गम्भीर अत्मआलोचक भावसहित इमान्दार अग्रसरता देखाउनुपर्नेमा श्रेष्ठले जोड दिएका छन्।
उनले भनेका छन्, ‘बेलैमा बुद्धि पुर्याऔं, नत्र धेरै ढिलो भैसकेको हुनेछ। त्यसबेला पछुतो मात्र बाँकी होला कि! समयमै सोचौं।’