काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी फेल गरेर नयाँ गठबन्धन बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेको खुलासा गरेका छन्।
एमसीसी संसदबाट पारित हुनुभन्दा अघि माओवादी अध्यक्ष प्रचण्ड, आफू र केही अन्य नेताहरुले ओलीलाई उक्त प्रस्ताव गरेको श्रेष्ठले खुलासा गरेका हुन्।
तर, ओलीले त्यसबेला एमसीसी सम्झौतामा राष्ट्रिय हित विपरितका कुनै प्रावधान नरहेको जवाफ दिएको श्रेष्ठले बताएका छन्। उक्त द्विपक्षीय वार्तामा नेकपा (एमाले ) का अन्य ३ जना उच्च स्तरीय नेताहरु पनि सामेल रहेको श्रेष्ठले उल्लेख गरेका छन्।
शनिबार आफूसमेत सहभागी भएको एक कार्यक्रममा ओलीले एमसीसी सम्झौता अरुले जस्तो गुपचुप राख्नु भन्दा राष्ट्रिय बहस होस् भनेर संसदमा पेश गरेको तर्क गरेपछि श्रेष्ठले आइतबार सामाजिक सञ्जालमार्फत उक्त भनाइ झुट रहेको दाबी गरेका छन्।
श्रेष्ठका अनुसार एमसीसी सम्झौतालाई त्यसमा समावेश गरिएको प्रावधानअनुसार नेपालको घरेलु ऐन भन्दा माथिल्लो हैसियतमा राख्न नेपालको संधी, ऐनअन्तर्गत प्रतिनिधिसभा पारित गर्नु आवश्यक भएकोले अमेरिकाले सम्झौतामा हस्ताक्षर गरेदेखि नै संसदबाट अनुमोदनका लागि दवावसहित अनुरोध गर्दै आएको थियो, तर त्यो सम्भव भैरहेको थिएन।
सम्बन्धित समाचारः वाम एकता र तालमेलको प्रस्तावमा ओलीको अभिव्यक्तिले रिसाए नारायणकाजी
ओली प्रधानमन्त्री भएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठाएको रसरकारले संसदबाट अनुमोदनका लागि प्रक्रिया अघि बढाएको श्रेष्ठको दाबी छ।
श्रेष्ठले अगाडि भनेका छन्, ‘केपी ओलीले शनिबारकै कार्यक्रममा एमसीसी अनुमोदनको प्रस्ताव पारित गर्ने उदेश्यले आफुले संसदमा नलगेको पनि बताउनुभयो। उहाँले संसद कमजोर भएकाले त्यो पारित गर्यो। त्यसैले त्यसमा आफ्नो कुनै दोष वा कमजोरी छैन भन्नुभयो, यो पनि सत्य होइन। किनकी उहाँले हाम्रो तत्कालिक पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिलगायतका बैठकहरुमा एमसीसी बिशुद्ध आर्थिक विकासको परियोजना हो र यसमा कुन राष्ट्रिय सार्वभौमिकता एवं राष्ट्रिय हित प्रतिकुलका प्रावधान छैनन् भन्नुभएको थियो।’