काठमाडौं। सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन्।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार असार १५ गते धुपेन्द्र शाही, विजय कुँवर र विमलबहादुर शाहीलाई पक्राउ गरिएकोमा उनीहरूको बयानका आधारमा रोका र तामाङलाई २८ गते पक्राउ गरिएको हो।
उनीहरुले सडक बालबालिकालाई विभिन्न प्रलोभन देखाइ भारतमा लगेर मिर्गौला बिक्री गरेको प्रहरीले जनाएको छ।
उनीहरुले काठमाडौंको सडक पेटीमा बालबालिकासँग चिनजान गरी मिर्गौला बिक्रीका लागि विभिन्न लोभ देखाउने, शरीरमा दुईवटा मिर्गौलामध्ये एउटा बेच्दा केही नहुने, ५ लाखसम्म कमाइ हुने, कसैले मिर्गौला ग्रहणकर्ता खोज्ने र काठमाडौंका पोलिक्लिनिकमा मिर्गौला दाताले गर्नुपर्ने रगत जाँच गराई भारतको कोलकत्ता लैजाने गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाही गरिने छ। यसबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।