काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि उनलाई नभेटेरै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फर्किने भएका छन्।
मोदीसँग आइतबार भेटेर प्रचण्ड स्वदेश फर्किने कार्यक्रम थियो। तर, अन्तमा मोदीले समय नदिएपछि प्रचण्ड उनलाई नभेटेरै स्वदेश फर्किन लागेका हुन्।
नड्डाकै निमन्त्रणमा तीनदिने भ्रमणका लागि शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर स्वदेश फर्किने बताइएको छ।
भ्रमण सफल
प्रचण्डको सचिवालयले तीन दिने भारतको सदभावना भ्रमण सफलतापुर्वक सम्पन्न दाबी गरेको छ।
पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण पार्टी टु पार्टी सम्बन्ध विकासका लागि महत्त्वपूर्ण रहेको र दुई देशबीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको प्रचण्डको सचिवालयले जनाएको छ।
भ्रमणको क्रममा प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाएको र भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको बताइएको छ।
प्रचण्ड भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाका निमन्त्रणामा शुक्रबार भारत गएका थिए।
भारत भ्रमणको क्रममा प्रचण्डले भाजपा अध्यक्ष नड्डासहित विदेश विभाग प्रमुख विजय चौथाईवाले, विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गरेका छन्।