धनगढी । सुदूरपश्चिममा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परि १९६ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/०८९ मा प्रदेशभरि ६७३ सवारी साधन दुर्घटनामा परेर १ सय ९६ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । जसमा सबैभन्दा बढी पुरुष १ सय ५३ जना रहेका छन्। भने, महिला २७, बालक १२ र ४ बालिका रहेका छन्।
सो अवधिमा भएका सवारी साधन दुर्घटनामा परेर ३ सय ९५ गम्भिर र ६ सय ६ जना साधारण घाइते भएका छन् । गम्भिर घाइते हुनेमा २ सय ८३ पुरुष, ७३ महिला र ३९ बालबालिका रहेका छन् । त्यस्तै सामान्य घाइते हुनेमा ४ सय १७ पुरुष, १३९ महिला र ५० बालबालिका रहेका छन्। प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा ७ सय ८३ सवारी साधन दुर्घटनामा परेर १ सय ८७ जनाको मृत्यु भएको थियो । सो अवधिमा १ हजार ९६ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७६/७७ मा ३ सय ८६ सवारी साधन दुर्घटनामा परेर १ सय ४३ जनाको मृत्यु भएको थियो ।
१ वर्षको अवधिमा ३१ चौपायाको पनि मृत्यु भएको छ। राजमार्गमा भएका सवारी दुर्घटनामा परेर ३१ चौपायाको मृत्यु भएको हो भने १० चौपाया घाइते भएका छन् । त्यस्तै सबैभन्दा बढी मंसिरमा ९८ सवारी दुर्घटनामा परेको तथ्याङ्क छ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी ३ सय ५६ मोटरसाइकल दुर्घटनामा परेका छन्। त्यसपछि एक सय ३ जीप र कार दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै, ६० ट्याक्टर, ३२ ट्रक ट्याङ्कर, ३१ बस, २४ टेम्पु, १० टिपर, ४ माइक्रो, ३ डोजर लोडर, ३१ साना सवारी र १० अन्य सवारी साधन दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा १ वर्षको अवधिमा ५ करोड ४१ लाख ९४ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । ट्राफिक प्रहरीले सवारी कारबाही बापत आर्थिक वर्ष २०७८/७९ मा उक्त राजश्व सङ्कलन गरेको हो । सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सो अवधिमा ९७ हजार १ सय ९ सवारी साधनमाथि कारबाही गरिएको छ। जसमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । १ वर्षको अवधिमा ३५ हजार ४ सय २५ मोटरसाइकल कारबाही गरी २ करोड २ लाख ६९ हजार ५ सय राजश्व सङ्कलन गरिएको छ । त्यस्तै १ वर्षको अवधिमा २३ हजार ९४८ जीप कार कारबाहीमा परेका छन् ।
जसबाट १ करोड २८ लाख ५४ हजार राजश्व सङ्कलन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सो अवधिमा १५ हजार १३६ ट्रक कारबाहीमा परेका छन् । जसबाट ८६ लाख ४० हजार राजश्व सङ्कलन गरिएको छ । १ वर्षको अवधिमा ४ हजार २३४ बस कारबाहीमा परेका छन् जसबाट २३ लाख ७० हजार राजश्व सङ्कलन भएको छ । प्रदेश ट्राफिक कार्यालयका अनुसार ५ हजार ४६९ अन्य सवारी साधन कारबाहीमा परेका छन् । जसबाट २९ लाख ८७ हजार राजश्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०७७/७८ मा ट्राफिक प्रहरीले ७९ हजार ८९ सवारी साधन कारबाही गरी ४ करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन गरेको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ५६ हजार १ सय ५३ सवारी कारबाहीमा ३ करोड ३१ लाख ९९ हजार ५ सय राजश्व सङ्कलन भएको थियो ।