काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाबाट कारवाहीमा परेका बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
उनीहरुबीच अहिले समाजवादी केन्द्र बनाउने विषयमा माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ।
प्रचण्ड र बाबुरामले आगामी निर्वाचन अगाडि नै समाजवादी केन्द्र बनाउनेबारेमा छलफल गरिरहेका छन्। प्रचण्डले पार्टी एकताकै प्रस्ताव गरेको भए पनि भट्टराईले भने कम्युनिष्ट विचारधारा प्रति वितृष्णा व्यक्त गर्दै आएका छन्।
यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा दुई चरण प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो। त्यस बेलाको छलफल पनि सकारात्मक रहेको बताइएको थियो।
मंगलबार साँझ ४ बजे नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम पनि प्रचण्ड र बाबुरामको छलफलमा सहभागी हुने बताइएको छ।
एकीकृत समाजवादीका नेताहरू पनि समाजवादी केन्द्र बनाउने कुरामा सहमत छन्।