काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्।
मङ्गलबार ६० औं इन्जिनियर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सरोकारवालाबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका हुन्।
उनले जनताको आवश्यकताअनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरु थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यकता औंल्याए।
उनले भचने, ‘राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न र जनताका आवश्यकतालाई चाँडै सम्बोधन गर्न राज्यको परिकल्पना अनुसार विकास, निर्माणका लागि अग्रणी भूमिका निर्वाह गर्ने इन्जिनियर नै हुन्। सुविधासम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरको योगदान अतुलनीय हुन्छ। समयको गतिसँगै यस पेशालाई थप व्यावसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ।’
देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत् आयोजना, सूचना प्रविधिलगायत पूर्वाधारको विकासको आवश्यकता हुने प्रधानमन्त्री देउवाले स्पष्ट पारे।