काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै सत्तारुढ दलका विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
आज संयुक्त विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका विद्यार्थी संगठन नेवि संघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रममा मंगलबार गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री र प्रतिनिधिसभाका सभामुखलाई ज्ञापनपत्र बुझाउने, बुधबार नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरीका कार्यालयहरुमा कालो ब्यानर राख्ने, साउन ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रशर्शन तथा अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख छ।
त्यस्तै, साउन ६ गते गते देशैभरी क्याम्पसहरुमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने, साउन ७ गते संघीय संसद सदस्यहरुलाई गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसदमा उठाउन अनुरोध गर्दै प्रदर्शनी मार्ग अगाडि सडकबाट संदेश पठाउने घोषणा गरिएका आन्दोलनका कार्यक्रम जनाइएको छ।
हेर्नुस्, सत्तारुढ दलका विद्यार्थी संगठनले संयुक्त रुपमा विज्ञप्ति गरेको विज्ञप्तिः
विवाद
एमालेको अर्थ योजना विभागको सदस्यमा एम. अधिकारी खोटाङ आएपछि गभर्नर अधिकारी विवादमा तानिएका छन्। एम. अधिकारी नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको धेरैले दाबी गरिरहेका छन्।
तर, एमाले र गभर्नरले एम अधिकारी अर्कै व्यक्ति रहेको दाबी गर्दै आए पनि हालसम्म एम अधिकारी को हो भनेर खुलाउन सकेका छैनन्।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ।
ऐनको दफा २२ को उफदफा ५ मा दफा २१ बमोजिम अयोग्य भएमा पदमुक्त हुने व्यवस्था छ । सरकारले जाँचबुझ समिति गठन गरेर मात्रै पदमुक्त गर्न सक्ने व्यवस्था छ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ ले प्रचलित कानून बमोजिम आफूले पाएको मतको अधिकार प्रयोग गर्न बाहेक अन्य कूनै पनि किसिमबाट कर्मचारीले चुनाव तथा राजनीतिमा भाग लिन नहुने व्यवस्था गरेको छ।