काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्।
भर्खरै सम्पन्न स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले खराव प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक दासानायकेले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्।
तर, उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। पत्रकार सम्मेलनमा उनले भने, ‘मैले नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ। मैले क्यानडामा परिवारलाई समय दिन आवश्यक छ। अबका केही वर्ष मैले क्यानडाबाहिर काम गर्न सक्ने अवस्था छैन।’
उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएको बताइएको छ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खलाअन्तर्गत स्कटल्याण्डमा नेपालले ४ मध्ये ३ खेलमा लज्जास्पद हार व्यहोरेको थियो।
पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टिममा दोस्रो कार्यकालका लागि गत मंसिरमा दुई वर्षे सम्झौता गरेका थिए। पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए। त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो।