काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर एक हप्ता नउठ्ने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको हो ।
आज काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पु¥याउन यस्तो निर्णय गरेको हो । आउँदो ७ दिन सम्म घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौँ महानगरपालिकाले अपिल गरेको छ ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको ब्यहोरा उल्लेख गर्दै हिजो साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।
समितिको बैठकमा यही अनुरोधका विषयमा छलफल गर्दै स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय भएको हो । उक्त अवधिभर फोहोर बाहिर फोहोर उत्पादकलाई अनुरोध गर्ने र सडकको फोहोर पोको बनाउँदै व्यवस्थापन गर्ने निर्णय गरेको छ । यस्तै महानगरपालिकाले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेको छ ।