काठमाडौं। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीनबीच कुनै विवाद नभएको बताएका छन्।
आफ्नो जिम्मेवारी समाल्न चीन प्रस्थान गरेका नेपाली राजदूत श्रेष्ठले चीनको अहस्तक्षेपको नीतिका कारण कुनै विवाद नरहेको र दुई देशबीचको सम्बन्ध गतिशील रहेको बताएका हुन्।
चीनले नेपालको अहित हुने काम नगर्ने र नेपालले पनि चीनको सुरक्षामा असर नपर्ने गरी एक चीननीतिप्रति प्रतिबद्ध रहँदै आएकाले सम्बन्धलाई सरकार हुँदै जनस्तरसम्मै लैजानुपर्ने श्रेष्ठले बताए।
उनले नेपाली र चिनियाँ उद्योगीबीच सहकार्य गराएर चीनबाट धेरै पर्यटक र लगानी नेपालभित्र्याउनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
नेपाल बिआरआईलाई कार्यान्वय गर्ने पक्षमै रहेको र आफू पनि बिआरआई कार्यान्वयन गर्नुपर्छ भन्ने पक्षमै रहेको उनले बताए।
उनले भने, ‘बिआरआईको कनेक्टिभिटी बढाउने जुन लक्ष्य छ, त्यो निकै नै महत्वपूर्ण छ। यो कनेक्टिभिटीको कुरामा नेपालले ऋण लिएरै भए पनि अघि बढ्नुपर्छ। तर, ऋण लिँदा त सचेत हुनैपर्छ।’