काठमाडौं। पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिको म्याद थप भएको छ।
७ दिन म्याद थप्न समितिले माग गरेअनुसार आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले समितिको ७ दिन म्याद थप गरिएको जानकारी दिए।
समितिको म्याद बिहीबार सकिँदैछ। तर, काम नसकिएको भन्दै म्याद थपका लागि समितिले आग्रह गरेको थियो।
समितिले मंगलबार अर्थ मन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल गरेको थियो भने बिहीबार पूर्व अर्थमन्त्री शर्माको बयान लिएको छ।
समितिले अर्थ मन्त्रालयको सिसिटिभीको फुटेज रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ।
शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट बनाउँदा एकजना पूर्वनायब सुब्बालाई जेठ १४ गते राति १२ बजे मन्त्रालयमा बोलाएर करका दरहरू हेरफेर गर्न लगाएको आरोप लागेको छ।
साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ।
उनीमाथि छानबिन गर्न संसदीय समिति बनेपछि असार २२ गते राजीनामा दिएका थिए।