बाजुरा । जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । नेकपा एमालेमा १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हो ।
साउन ५ गते दिउसो १ बजेसम्म मनोनयन दर्ताको समय तालिका बनाएको भएपछि नेकपा एमालेले मात्र उम्मेदवारी दर्ता गराएको र नेपाली काङ्ग्रेसले उम्मेदवारी नै नदिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए ।
नेकपा एमालेबाट समन्वय प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछि सार्की, खुला सदस्यमा हिकमतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतराले उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी महिला सदस्यमा कुल्चु देवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउँद र दलित महिला सदस्यमा रम्ब देवी विकले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका ९ वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको असार २३ गते पहिले नै निर्वाचन सम्पन्न गरिएको छ । बुढीगंगा नगरपालिकाको स्थानीय निर्वाचन असार २३ गते सम्पन्न पश्चात् असार ३२ गते कार्यपालिकाको निर्वाचन सम्पन्न भएको पत्र प्राप्त पछि साउन २ गते जिल्ला समन्वय समितिको निर्वाचनका लागि कार्यपालिका सार्वजनिक गरिएको थियो ।
साउन ५ गते उम्मेदवारी दर्ता गरी साउन ६ गते उम्मेदवारको विरोधमा उजुरी र मनोनयन पत्रको जाँच र उजुरी उपरको निर्णय गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै साउन ७ गते उम्मेदवारको नामावली प्रकाशन र उम्मेद्धारले नाम फिर्ता लिने तालिका छ भने साउन ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने र निर्वाचन हुने कार्यतालिका रहेको छ ।