काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालका जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेजीलगायतका माग राख्दै संयुक्त रुपमा काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।
शुक्रबार अध्यक्ष कमल थापासमेत उपस्थित माइतीघरबाट सुरु भएको सो प्रदर्शनमा सो पार्टीका सबै जनवर्गीय संगठनहरूको उपस्थिति छ।
सो पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग राखेका छन्।
राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसँगै सडक केन्द्रित आन्दोलन सुरु गरेको महामन्त्री बर्तौलाले बताए। उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रुपमा अघि बढाइनेछ।