काठमाडौं। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमामा सामान्य हेरफेर गरेको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यसअघि कायम शेयर धितो कर्जाकोे सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए।
उनले यसअघि शेयर धितो राखेर एउटा संस्थाबाट चार करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताए।
मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। शेयर धितो कर्जामा एउटा बैंकबाट चार करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ।
अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ। २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ। मर्जर तथा एक्विजिसनमा जाँदा शेयर कारोबार रोक्का राखिने व्यवस्था खारेजसमेत गरिएको छ।
त्यस्तै, राष्ट्र बैंकले कर्जा विस्तारमा कडाइ गरेको छ।
चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले यस वर्ष निजी क्षेत्रमा १२.६० प्रतिशत मात्र कर्जा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए।
गत वर्ष राष्ट्र बैंकले निजी क्षेत्रमा १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो। तरलता अभावका कारण लक्ष्यको करिब १२ प्रतिशत मात्र कर्जा विस्तार भएको थियो।
यस्तै साना तथा मझौला उद्योगमा कर्जा प्रवाहलाई विस्तार गर्ने विषयलाई मौद्रिक नीतिमा समेटिएको छ।
कोरोना महामारीको समयमा दिएको सुविधा कटौती गर्दै राष्ट्र बैंकले अतिआवश्यकलाई मात्र पुनःकर्जा दिने लक्ष्य मौद्रिक नीतिले लिएको छ। मौद्रिक नीतिमा साना, लघु क्षेत्रमा कर्जालाई केन्द्रित गरिएको छ।