काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ।
शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार सेयर धितो कर्जामा केही हेरफेर गर्दै १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था गरेको छ। साथै चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ।
निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ। अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो।
सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रतिशत पुर्याएको छ ।
बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ। कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ। पुनरकर्जाको सुविधामा आवश्यक पुनरकर्जाको प्रबन्धमा केही संशोधन गरिएको छ।
रुस र युक्रेन युद्धका कारण परेको वैदेशिक चापका कारण आन्तरिक रुपमा समेत समस्या परेको अवस्थामा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी वैदेशिक मुद्राको सञ्चिति कायम राख्ने नीति केन्द्रीय बैंकले लिएको छ।
सरकारले चालु आवको बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि र मूल्यवृद्धिको सीमा सात प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ। उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ।
मौद्रिक नीतिको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्ः