सर्लाही। पर्सा गाउँपालिकामा ४८ दिनदेखि बेपत्ता एक महिलाको हत्या गरी खेतमा गाडेको अवस्थामा शव फेला परेको छ
जिल्लाको दक्षिणी भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका–१, शीतलपुरकी २० वर्षीया निशा यादव हराएको ४८ दिनपछि शव फेला परेको हो। हत्यापछि आफ्नै खेतमा गाडेको अवस्थामा निशाको शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
प्रहरीले निशाको हत्यामा संलग्न रहेको आरोपमा उनकै श्रीमान बालदत्त भनिने रमजेशकुमार यादव, ससुरा रामप्रताप यादव र देवर राजु यादवलाई पक्राउ गरेको छ। उनीहरुले अपराध स्वीकार गरिसकेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दाइजो कम ल्याएको निहुँमा निशाको हत्या भएको आशङ्का गरिएको छ। महोत्तरीको सोनमा गाउँपालिका–१, मगरथाना निवासी कैलाश यादवकी छोरी निशाको डेढ वर्षअघि रमजेशकुमारसँग मागी विवाह भएको थियो।
गएको जेठ २१ गते श्रीमानसँग विवाद भएपछि निशाले भोलीपल्ट जेठ २२ गते माइती पक्षलाई खबर गरेकी थिइन्। त्यसपछि निशाका बुवा कैलाश यादव सोही दिन छोरीलाई भेटेर साँझ घर फर्किएका थिए।
बुवा फर्किएकै दिन जेठ २२ गते राती श्रीमानसहित परिवारका सदस्य मिलेर निशाको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिन्छ। हत्यापछि घरबाट झण्डै चारकिलोमिटर टाढा रहेको आफ्नै खेतमा लगेर छ फिट गहिरो खाल्डो खनी निशाको शव त्यहीँ पुरिएको अवस्थामा भेटिएको हो।
निशाको शव पुरिएको स्थानमा उनीहरुले धान रोपेका थिए। जुन धानबाली अहिले हरियो भइसकेको छ।