काठमाडौं। नेपालमा तय भएको महिला साफ च्याम्पियनसिप फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ रंगशालामा गर्ने निर्णय गरेको हो ।
एन्फाले गठन गरेको साफ आयोजक कमिटिका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले प्रतियोगिता दशरथ रंगशालामा आयोजना हुने जानकारी गराए ।एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।
यस अघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।