दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्।
नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको बताएका हुन्।
उनले भने, ‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो। राष्ट्रका लागि सधैँभर लागिरहन्छु।’ स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उनले पैसाले चुनाव लड्न खोज्नु पनि राजनीति नभएको चर्चा गरे।
उनले अगाडि भने, ‘पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन। राजनीतिमा प्रतिस्पर्धा हुन्छ, कोसँग दृष्टिकोण छ त्यसलाई हेरेर जनताले रोज्नु पाउनुपर्छ।’