जुम्ला। जङ्गली च्याउ खाँदा जुम्लामा एकै घरका पाँच जना बिरामी परेका छन्।
जङ्गली च्याउ खाएपछि जुम्ला तिला गाउँपालिका–४ नुवाकोट गाउँका लक्ष्मीबहादुर हमाल परिवारका पाँच जना बिरामी भएका हुन्।
बिरामी पर्नेमा लक्ष्मीबहादुर हमाल, उनकी पत्नी राममाया हमाल, छोरीहरू दर्शना हमाल र सम्झौता हमालका साथै उनको घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका–९ रोकायाबाडाका लालबहादुर रोकाया रहेका छन्। उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।
हमाल परिवारले आइतबार साँझ जङ्गलबाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए। स्थानीय यज्ञप्रसाद चौलागाईंका अनुसार च्याउ खाएलगत्तै बिरामीले रिंगटा लाग्ने र निरन्तर बान्ता गरेपछि आइतबार राति नै अस्पताल पठाइएको थियो।
लक्ष्मीबहादुर र छोरी सम्झौताले बोल्न छाडेपछि राति नै अस्पताल ल्याइएको थियो। अहिले सम्झौताबाहेक अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रहरीले जङ्गलमा पाइने सबै च्याउ खान नमिल्ने भएकोले सचेत रहन प्रहरीको सुझाव छ।