काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने घोषणा गरेको युवा सागर ढकाल डडेल्धुरा गएका छन्।
उनले सोमबार सामाजिक सञ्जालमार्फत चुनावको तयारीको लागि नाइट बसमा डडेलधुरा गएको जानकारी दिएका छन्।
उनले ठुलाठुला सभा हलका भाषण सुन्ने कार्यक्रम पुर्ण रुपमा छोडेर सडकमा सबैसँग भालाकुसारी गर्ने बताएका छन्।
साथै, घोषणापत्र नभएर कार्यान्वयन पत्र छिट्टै सार्वजनिक गर्ने उनले बताएका छन्।
उनले अबको २–३ महिनामा सम्भावित प्रधानमन्त्रीसहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने घोषणा गरेका छन्।
उनले आफूहरु असामान्य नभएर सामान्य भन्दा सामान्य हुने प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्।
उनले हरेक खर्च मिति र सके समयसंगै, मिनेट र पैसामा हिसाब गरेर सार्वजनिक गर्ने र सबै चिज सकेसम्म अनलाइनबाट नै तिर्ने प्रयास गर्ने बताएका छन्।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर) हात समाएर आफूसँगै जान आग्रह गरेका छन्। उनले यस पटक देउवालाई उनको जन्मभूमि टेकाउने प्रयास गर्ने बताएका छन्।
उनले भनेका छन्, ‘सुन्छु डडेलधुराको विकट गाउँबाट चप्पल पढ्काएर राजनीतिमा आउनुभएको हजुरबुवा (देउवा)ले म जन्मिएदेखि जमिन टेक्नुभएको छैन, नेपाली जनताको पीडा सत्ताको मोहमा बिर्सनुभएको छ। परिवारबादमा सोच्न नसकिने गरि चुर्लुम्म डुब्नुभएको छ। डडेलधुरा पनि पाँच वर्षमा एक पटक जान पनि हम्मे हम्मे पर्छ रे। यस पटक उहाँलाइ जमिन टेकाउने प्रयास गर्नेछु।’