विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाएका छन् ।
विराटनगरका जमिन्दार परिवारको रुपमा चिनिनुभएका कोइरालाको नाममा महानगर क्षेत्रभित्र ८५ कठ्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
प्रमुख कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पति विवरणमा उल्लेख गरेका छन् । दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी उनको नाममा २८ हजार ७१९ वर्गमिटर (८५ कठ्ठ) जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ । विराटनगर १५ मा ७४ कठ्ठा र ११ नम्बर वडामा ११ कठ्ठा जग्गा भाइको नाममा रहेको भएपनि पैत्रिक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ । जग्गाका आर्थिक मूल्यांकन कति हो भनेर उल्लेख गरिएको छैन ।
प्रमुख कोइरालाको एकाघरको सम्पति भने त्यो भन्दा धेरै छ । तर उनले व्यक्तिगत स्वामित्वमा रहेको सम्पत्तिको विवरण मात्र बुझाएका हुन् । महानगर प्रमुख कोइरालाका प्रेस संयोजक मिनकुमार नवोदित श्रेष्ठका अनुसार कोइरालाले श्रीमती र आमाको नाममा भएको जग्गा र सम्पत्ति विवरणमा समावेश गरेको छैन् । ‘उहाँले आमा, श्रीमती र परिवारका अरु सदस्यको नाममा भएको सम्पत्ति विवरण बुझाउनु भएको होइन,’ श्रेष्ठले भने ‘यो नितान्त उहाँको व्यक्तिगत नाममा भएको सम्पत्तिको विवरण मात्र हो ।’
कोइरालासँग ८० तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ । उनले ८ लाख रुपैयाँमा ८० तोला सुन खरिद गरेको कैफियतमा जनाउनु भएको छ । उहाँको नाममा सानिमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको र उक्त नगद पनि पैत्रिक सम्पतिबाटै प्राप्त भएको भनिएको छ ।
उनले सम्पति विवरणमा विराटनगरमा भएका घरहरुको विवरण बारे उल्लेख गगरेका छैनन् । उनको नाममा तीन करोड ३० लाख रुपैयाँ मूल्य पर्ने टोयोटाको प्राडो गाडी रहेको विवरणमा उल्लेख छ ।