तम्घास। गुल्मी अस्पतालमा असार २८ गते सुत्केरी भएका महिलाको पाठेघरभित्रै प्याड रहेको रहस्य सार्वजनिक भएको छ।
गुल्मी अस्पतालमा असार २८ गते सुत्केरी भएका छिमेकी जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका–८ की २१ वर्षीया अप्सरा पाण्डेको पाठेघरभित्रै प्याड छोडिएको पाण्डेका परिवारले आरोप लगाएका छन्। सुत्केरी पाण्डेलाई असार २९ गते अवस्था सामान्य रहेको भन्दै गुल्मी अस्पतालले डिस्चार्ज गरेको थियो।
घर पुगेपछि खान मन नलाग्ने, नवजात शिशुलाई दूध चुसाउन पनि समस्या भएको र तल्लो पेट दुख्ने समस्या आएपश्चात् स्थानीय महिलाले पाठेघरमा हेर्दा सेतो धागो देखेको थिए। उक्त धागोलाई के रहेछ ? भनेर हेर्दा प्याड देखेपछि स्थानीय स्वय्म सेयमसेविकाले निकालेका थिए।
उक्त प्याडलाई सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी वरिष्ठ हवलदारसमेत रहेका अप्सराका कान्छा बुबा दीपक कुँवरले बताए।
यता, जिल्ला अस्पताल गुल्मीका प्रमुख डा. उत्तम पच्याले पाठेघरभित्र प्याड रहेको भन्ने आरोप लगाइए पनि त्यस्तो कमजोरी हुन नसक्ने बताए।
उनले भने, ‘डिस्चार्ज गर्नुभन्दा पहिले पाठेघरको बाहिरी भागमा राखिएको प्याडलाई पिसाव फेर्न जाँदा निकाल्न भनिएको थियो। अन्य प्याडहरु राखिएको थिएन। अहिले यस्तो आरोप लाग्दा आश्चर्य लाग्यो।’