काठमाडौं। गृह मन्त्रालयले सिंहदरबार गेटको सीसीटीभी फुटेज आफैं डिलिट भइसकेको पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिलाई जवाफ दिएको छ।
समितिले मन्त्रालयलाई सिंहदरबारको दुवै तर्फको गेटको जेठ १४ गतेदेखि भोलिपल्सम्मको सीसीटीभी फुटेज माग गरेको थियो। तर, मन्त्रालयले १६ दिन अवधिकोभन्दा धेरै फुटेज नभएको भन्ने जवाफ दिएको छ।
नेपाल प्रहरीको फरेन्सिक ल्याबले ‘रिकभर’ गरेपछि समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज भने पाएको छ। प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर समितिलाई बुझाएको छ।
एउटा प्याकेजमा २५ वटा र अर्को प्याकेजमा २६ वटा क्लिपहरु प्रहरीले समितिलाई बुझाएको हो। ती क्लिपहरु केही सेकेन्डका छन्। राम्रोसँग स्पष्ट नदेखिने धुर्मैला पनि छन्। मान्छेहरु आउजाउ गरेको जस्तो देखिए पनि स्पष्ट देखिएको छैन।
उक्त विषयमा फरेन्सिक विज्ञहरुसँग छलफल गर्न बैठक आजै ४ बजे फेरि बस्ने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।
सम्बन्धित समाचारः
जनार्दन प्रकरणः सीसीटीभी फुटेज रिकभर, फुटेजबारे विज्ञसँग छलफल गर्दै समिति
आरोप अनि राजीनामा
पूर्व अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा एकजना पूर्वनायब सुब्बालाई जेठ १४ गते राति १२ बजे मन्त्रालयमा बोलाएर करका दरहरू हेरफेर गर्न लगाएको आरोप लागेको छ।
साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ।
जेठ १४ गतेको सीसीटीभी फुटेज डिलिट भएको जवाफ मन्त्रालयले दिएपछि संसदीय समितिले रिकभरका लागि प्रहरीसँग सहयोग लिएको थियो।
शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएपछि असार २२ गते राजीनामा दिएका थिए।