काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले बुधबार (आज)देखि प्रतिवेदन तयार गर्ने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समितिको दोस्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सीसीटीभी फुजेटबारे जानकारी लिएपछि प्रतिवेदन लेख्ने तयारी गरेको हो ।
सीसीटीभी फुटेजका बिषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताए । बुधबार बस्ने बैठकमा यसबारे फेरि छलफल हुने र प्रतिवेदनमा पनि लेखिने उनले बताए । उनले अब समितिको म्याद थप गर्न पहल नगरिनेसमेत स्पष्ट पारे ।
तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपको छानबिनका लागि गठित समितिले जेठ १४ गतेको सीसीटीभी फुटेज मागेको थियो ।
अर्थ मन्त्रालयले उक्त अवधिको फुटेज स्वतस् मेटिएको भन्ने जवाफ दिएपछि समितिले फुटेज भण्डार (स्टोर) हुने हार्ड ड्राइभ नै झिकाएर परीक्षण तथा रिकभरका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।
सुरुमा १० दिनको समय पाएको समितिलाई छानबिनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।