बैतडी। भारत सरकारले धारचुला हुँदै निर्माण गरिरहेको कैलास मानसरोवर सडक खण्डमा पहिरो खस्दा एक जना नेपाली मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाईने भएका छन् ।
मङ्गलबार अपरान्ह कैलास मानसरोवर सडक खण्डको धारचुला स्थित लामारी–पेलसिती झरना नजिकैको पहाड भासिएर पहिरो खस्दा सडकमा काम गरिरहेका डडेल्धुरा घर भएका मजदुर ४५ वर्षीय नरबहादुर रोकाको मृत्यु भएको हो। घटना परि ३८ वर्षीय पदमसिंह कुँवर गम्भीर घाईते भएका छन्। कुँवरको धारचुला सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ।
भारतको पिथौरागढ जिल्लाबाट करिब १५० किलो मिटर दूरीमा धारचुला हुँदै भारतले कैलास मानसरोबर सडक निर्माण गरिरहेको छ। गर्ग एण्ड गर्ग कम्पनीले सडक चौडा गरेर कालोपत्रे गर्ने काम गरिरहेको छ। कम्पनीले नेपाली मजदुरलाई काममा लगाएर सडक कालोपत्रे गर्दै आइरहेको छ।
रोजगारीका लागि भारतको पिथौरोगढ जिल्ला जाने हजारौं नेपाली मजदुर सडक र भवन निर्माणमा सलग्न भए पनि नेपाली मजदुरको बीमा नहुँदा समस्या हुने गरेको छ।