काठमाडौं। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले आजदेखि प्रतिवेदन लेख्न सुरु गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको समितिको दोस्रो बैठकमा नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका विज्ञहरूसमेत बोलाएर सीसीटीभी फुजेटबारे जानकारी लिएपछि समितिले बुधबारेखि प्रतिवेदन लेख्न सुरु गरेको हो।
सीसीटीभी फुटेजका बिषयमा विज्ञहरूसँग जानकारी लिएको र सबै विषय प्रतिवेदनमा नै उल्लेख गर्ने समिति सचिव सुरेन्द्र अर्यालले बताए।
तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपको छानबिनका लागि गठित समितिले जेठ १४ गतेको सीसीटीभी फुटेज मागेको थियो।
अर्थ मन्त्रालयले उक्त अवधिको फुटेज स्वतस् मेटिएको भन्ने जवाफ दिएपछि समितिले फुटेज भण्डार (स्टोर) हुने हार्ड ड्राइभ नै झिकाएर परीक्षण तथा रिकभरका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।
सुरुमा १० दिनको समय पाएको समितिलाई छानबिनको समय अभाव भएको भन्दै ७ दिन म्याद थप गरिएको थियो।
पूर्व अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा एकजना पूर्वनायब सुब्बालाई जेठ १४ गते राति १२ बजे मन्त्रालयमा बोलाएर करका दरहरू हेरफेर गर्न लगाएको आरोप लागेको छ।
साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ।
छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएपछि शर्माले असार २२ गते राजीनामा दिएका थिए।