प्रमोद गिरी
साँझपख तपाईं काठमाडौंमा मान्छेले मान्छे किन्ने ठाउँ रत्नपार्क वरपर पुग्नुभयो भने वातावरण बेग्लै देख्न सक्नुहुनेछ,त्यहाँ मान्छेले मान्छे किन्ने र बेच्ने काम देख्न सक्नुहुन्छ। कुनै बेला साँझ छिप्पिएपछि सडक वरपर देह व्यापारका लागि मोल–मोलाइ भैरहेको दृष्य खुलेआमा देखिन्थे।
पछिल्लो अवधिमा भने त्यस्ता दृष्यहरु देखिन केही हदसम्म लागि कम भएको छ। के त्यसो भए शहरमा देह व्यापार निर्मूल भएको हो त? हैन, काम गर्ने थलो बदलिएको हो, काम हैन। हविगतमा एक–अर्काको सामुन्ने गरिने मोल–मोलाई यतिबेला मोबाइल फोन र रातभरि चल्ने क्लब, दोरी, डान्सबारहरुमा हुन थालेको छ।
खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकीछिपी उही कामलाइ निरन्तरता दिइएको छ। सडक किनारमा हुने देह व्यापारको मोल–मोलाइ अचेल मोबाइलको एसएमएस तथा सामाजिक सञ्जालबाट पनि हुन थालेको कुरा सुन्दा तपाईंलाई पनि आश्चर्य लाग्न सक्ला तर, वास्तविकता भने त्यहीँ नै हो।
अचेल देह व्यापारको ‘धन्दा’ सडकको किनारमा उभिएकाहरुमार्फत होइन, रातिमा चल्ने ठमेलका क्लबहरु, काठमाडौंका रोधीघर, डान्सबारहरुमा गरिन्छ। त्यसमा यौन पिपाशुहरु निकै चाँडै फस्छन्, चाहे उनीहरु असाध्यै धनाड्य हुन् अथवा तागाधारी नै किन नहुन्।
क्षणभरको मनोरञ्जनका लागि मदिरा सेवन गरेर राति महिलासँग रात बिताउन चाहनेको लागि महिला खोज्नु पर्दैन, आफैं आएर डिल गर्न थाल्छन।
‘धेरै त भन्दिन एक घन्टाका एक हजार र एक रातको पुरा ५ हजारदेखि १० हजारसम्म हो। अब हजुरसँग जाने हो भने धेरै पर्छ। हामीसँग होटल जाने भए अलि सस्तो पर्छ हजुरलाई।’ डान्सबारमा सुनिएको संवाद हो यो।
हेर्दा १७–१९ वर्षको जस्तै देखिन्थिन् उनी, उनले हाम्रो केही प्रश्नको जवाफ दिँदै गर्दा भनेकी थिइन्, ‘के गर्नु दाई! घर अलि विकट ठाउँमा छ। आमा बुबा र सानो भाइ गाउँमा छ। केही कमाई छैन। अरु घरमा हिान बेलुकाको छाँक टार्न गार्हो भएर यो पेशामा बाध्य भएर लागे। सुरुमा काठमाडौं आउँदा होटलमा वेयटरको काम गर्थे। ७–८ हजार रुपैयाँ आउँथ्यो। यसले बाच्नै गार्हो। कोठा भाडा, कलेजको फि, घर खर्च नै नभ्याउने। तर हिजो यो काममा घन्टामै यति धेरै पैसा आउँछ। त्यहीँ भएर यस्तो काम गर्न बाध्य छु म।’
देह व्यापारमा किशोरीदेखि महिलाहरुसमेत भेटिन्छन्। जहाँ उनीहरु दिनमा कैयौं ग्राहकहरुको यौन प्यास मेटाउन बाध्य छन्। आफ्नो बाध्यता र परिस्थितिले गर्दा पनि कतिपय महिलाहरु यौन धन्दामा लागेको देखिन्छ। तर आफ्नो व्यापार बढाउन यौनकर्मी राखेर कमिसन लिने, ग्राहकसँग बस्न लगाएर बिल धेरै बनाउन लगाएर ठग्ने जस्ता कार्य केही क्लव, रोधीघर तथा डान्स बारहरुमा हुँदै आएको छ।