काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रुप दिँदै छ। त्यसका लागि बिहीबार आज दिउँसो समितिको बैठक बस्दै छ।
समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार बैठक बिहीबार साढे १२ बजे बस्नेछ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रतिवेदन लेखनका बारेमा छलफल गरेको र बिहीबार प्रतिवेदनलाई अन्तिम रूप दिएर बुझाउने तयारी गरेको सचिव अर्यालले बताए।
विभिन्न व्यक्तिसँग लिइएको बयान, अर्थ मन्त्रालयको सीसीटीभीको रिकभर रिपोर्ट लगायत विषयलाई समेटेर प्रतिवेदन तयार गरिने छ।
प्रतिवेदन सकेसम्म सबै सदस्यको सहमतिका आधारमा लेख्ने समझदारी बनेको समितिका सचिव अर्यालको भनाइ छ। यद्यपि, सदस्यहरुले आ–आफ्नो राय भने राख्न पाउनेछन्।
पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए। सोही दिन छानबिनका लागि ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।