काठमाडौँ । काठमाडौं महानगरपालिकाले स्व. यम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महानगरले यसअघि र्यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको हो ।
महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले विष्णुमतीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बन्ने बताए ।
तर, पार्कमा यम बुद्धको सालिक भने नरहने उनले बताए ।
यसअघि सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘आफ्नो तलबबाट सालिक बनाउने घोषणा’ गरेका थिए । तर, स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब लिन मिल्ने कानुनी व्यवस्था नै नरहेको भन्दै आलोचना भएको थियो ।