काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर लिएर गएका गाडीलाई बञ्चरेडाँडामा फेरि अवरोध भएको छ।
फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका करिब ६० गाडीलाई स्थानीयले फेरि अवरोध गरेका हुन्। जसका कारण फोहोरका गाडीको बाटोमै लाइन लागेको छ।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दैल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयबासीले आगामी भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि बिसर्जन गर्न नदिने घोषणा गरेका छन्।
सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले महानगरले सम्झौताअनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै फोहोर फाल्न नदिने घोषणा गरे।
उनले भने, ‘सरकारसँग १ भदौदेखि फोहोर फाल्ने भए जम्मा दुई वटा मात्रै विकल्प रहेको छ। मानबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्र मध्ये सरकारले एउटा मात्रै छान्न पाउनेछ। बञ्चरेडाँडाका मानिसहरुको जिउधनको रक्षागर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौदेखि फोहोर जान पाउँछ।’
फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो।
महानगरले आजदेखि फोहोर संकलन गर्न थाले पनि बञ्चरेडाँडाका स्थानीयले फेरि अवरोध गरेका हुन्।
सम्बन्धित समाचारः
काठमाडौं महानगरको फोहोर आजदेखि उठ्यो