पोखरा। पोखरामा देशभरका ६ महानगरका प्रमुख भेला हुने भएका छन्। यही साउन १३ र १४ गते पोखरामा ‘मेट्रो प्रमुख मिट नेपाल’ हुने भएको हो।
सम्मेलनमा ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहनेछ। सम्मेलनमा महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका प्रमुख धनराज आचार्यले बताए।
पहिलो दिन लेकसाइडस्थित होटल बाराहीमा भेला भई सराङकोटस्थित सराङकोट माउण्टेन लजमा सहभागी पुग्नेछन्। जसमा सङ्घीयता, महानगर र अबको बाटोबारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलको मुख्य प्रस्तुति रहनेछ।
यस्तै, पोखरासहित काठमाडौं, विराटनगर, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिकाका प्रमुखहरुले आफ्ना महानगरका मुख्य योजना तथा कार्यान्वयनका चुनौतीबारे सम्बोधन गर्नेछन्। महानगरका उपप्रमुखबाट ऐनले निर्दिष्ट गरेका जिम्मेवारी सम्बन्धमा अनुभव तथा सिकाइ आदान–प्रदान हुनेछ भने महानगरका प्रमुख प्रशासकीय अधिकृतले विद्यमान ऐन, कानुन र तिनका कार्यान्वयनका चुनौतीबारे मन्तव्य राख्नेछन्।
साथै, दोस्रो दिन महानगरको साझा सवालबारे संश्लेषण, महानगरमा पूर्वाधार विकास तथा सुशासनबारे पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले प्रस्तुति राख्नेछन्। यस्तै, महानगरमा हरित, उत्थानशील तथा समावेशी विकासको अपरिहार्यता सम्भावना र चुनौतीबारे छलफल हुनुको साथै महानगरका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा छलफल हुने पोखरा महानगरका प्रमुख आचार्यले बताए।
महानगरबीचका काम र सम्भावनालाई उजागर गर्ने कुरामा पनि छलफल हुने उनले जानकारी दिए। प्रमुख आचार्यले अनुभवी प्रमुखले भोगेका समस्या र समाधानका उपाय र नयाँ जनप्रतिनिधिबाट आउने योजनाका बारेमा विस्तृत छलफल हुने बताए।
अन्त्यमा, पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ।