काठमाडौं। साढे दुई करोड रुपैयाँको बीमा रकम हत्याउन एक महिलाले श्रीमानको हत्या गरेको खुलेको छ।
बाँकेको कोहलपुर–११ बस्ने २१ वर्षकी सपना मल्लले श्रीमान सर्जन विकको हत्या गराएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ।
विकको हत्या आरोपमा प्रहरीले श्रीमती मल्लसहित सञ्जीव अर्याल, सरदार अहम्द खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ।
२०७८ वैशाख २ गते मोटरसाइकलमा सवार विकलाई मिनी बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो सपनाले विकसँग हत्याको एक महिनाअघि मात्रै नक्कली विहे गरेकी थिइन्। प्रहरीका अनुसार विकको जीवन बीमा २०७७ साल फागुन २८ गते गरिएको थियो र उनले इच्छाएको व्यक्तिमा पत्नी सपना मल्लको नाम उल्लेख गरेका थिए। सोही वर्षको चैत २ गते सपना र मृतकबीच विवाह दर्ता भएको देखिएको थियो। विवाहभन्दा अगावै विकले इच्छाइएको व्यक्तिमा सपनाको नाम उल्लेख गरेका थिए।
दुर्घटनापछि मिनीबस चालक टोपबहादुर राना क्षेत्रीले सवारी दुर्घटना गराएको कसूरमा ३० दिन कैद र २० हजार रुपैयाँ जरिबाना तिरेर निस्किएका थिए।
तर, उनी बाहिर आएपछि मृतक विकको जीवन बीमा वापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्सबाट लिएर उनकी पत्नीसहित पक्राउ परेका व्यक्तिहरूले बाँडफाड गरेको अनुसन्धानबाट खुलेको छ।
विकको मृत्युपछि उनकी पत्नी सपना मल्लले रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रूपैयाँ २०७८ साल साउन १४ गते बीमा भुक्तानी लिएकी थिइन्।
प्रहरीले छ जनालाई सङ्गठिक अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।