काठमाडौँ । प्रायः मध्य तथा पश्चिम अफ्रिकी देशहरुमा मात्र हुनेगरेको मङ्कीपक्स हाल यसको प्रकोप विश्वका धेरै देशमा द्रुत गतिले फैलिरहेको छ ।
सन् २०२२ मे १३ पछि यो संक्रमण अन्य देशहरुमा फैलियो । विभिन्न देशमा जनस्वास्थ्यको जोखिम बढ्दै गएपछि साउन ७ गते विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गर्यो ।
डब्लुएचओका अनुसार मङ्कीपक्स विश्वका ७५ देशका १६ हजारमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले नेपालमा अहिलेसम्म मङ्कीपक्सका बिरामी पुष्टि नभएको जानकारी दिए ।
उनका अनुसार विगतमा दुई जनामा मङ्कीपक्सको आशंका गरिएको थियो, तर उहाँहरुको परीक्षण गर्दा एक जनामा ठेउला र अर्कोमा कुष्ठरोग पुष्टि भएको थियो ।
नेपालमा अहिलेसम्म मङ्कीपक्स संक्रमण पृष्टि नभए पनि विश्वमा द्रुत गतिमा फैलिरहेकाले मन्त्रालय त्यसमा सचेत रहेको डा. अधिकारीले बताए। “नेपालमा मङ्कीपक्स पृष्टि भएको छैन, तर पनि मन्त्रालय सचेत छ । रोग भित्रिन नदिन विदेशबाट आउने नागरिकलाई लक्ष्यित गरी विभिन्न १४ नाकामा हेल्थडेक्सको स्थापना गरिएको छ ,” उनले भने ।
त्यसकासाथै सबै प्रदेशमा मङ्कीपक्सको शंका लागेमा परामर्श गर्न इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले १४ जना यौन तथा छाला रोग विशेषज्ञलाई फोकल पर्सन तोकेको उनले जानकारी दिए ।
रोग भित्रिन नदिन व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गर्दै डा. अधिकारीले भने, “शंका लागेमा हेल्थडेक्समा तत्काल सम्पर्क गर्नुहोला ।”