दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिका–४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमा अज्ञात रोग देखिएपछि पठनपाठन बन्द छ ।
छात्राहरू केही हप्तादेखि बिरामी हुन थालेपछि केही दिनलाई विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक खडक लोथ्यालका अनुसार विद्यालयमा छात्राहरू करिब हप्ता दिनदेखि एकाएक बिरामी हुन थालेपछि पठनपाठन बन्द गरिएको हो ।
छात्राहरू एक्कासि छटपटाउने, मुर्छा पर्ने, रुने, कराउने तथा भीडभाडदेखि डराउने लक्षण देखिएपछि विद्यालय बन्द गरिएको उनले बताए । बिहीबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकले साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको विद्यालयले जनाएको छ ।