काठमाडौं। हिरासतमा रहेकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईं पक्राउ परेका छन्।
शुक्रबार बिहान २ बजेतिर हिरासतबाट निकालेर भवनको माथिल्लो तलामा लगेपछि महिलामाथि यौन दुर्व्यवहार तथा बलात्कार भएको आशंकामा चौलागाईं पक्राउ परेका हुन्।
चौलागाईंले मध्यरातमा आफ्नो कोठामा लगेर सामान्य सोधपुछ गर्नुको साथै हातपात गरेको भन्ने कुरा आएको हुँदा घटना अनुसन्धानका लागि नियन्त्रणमा लिएर जिप्रका बाँकेको थुनुवा कक्षमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
असई चौलागाईंले हिरासतमा भएकी महिलालाई मध्य रातमा निकाल्न आदेशपछि हिरासतमा बसेका अरूले हल्लाखल्ला गरेका थिए।
मुद्दा दर्ता
चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईंविरूद्ध बलात्कार मुद्दा दिएकी हुन्।
‘पीडितले असईं चौलागाईं विरूद्ध दिएको जाहेरी दर्ता भएको छ,’ प्रवक्ता न्यौंपानेले भने, ‘अब कानुन अनुसार कारबाहीको प्रक्रिया सुरु हुनेछ।’
असईं चौलागाईंलाई थुनामा राखेर घटना अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बहुविवाह मुद्दामा ती महिला साउन ११ गते पक्राउ परेकी थिइन्।