काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोरभित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन्।
शनिबार काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्। फोहोरमैला सामान्य कुरा भए पनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको उनले आरोप लगाए।
मन्त्री श्रेष्ठले भने, ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ। सामान्य कुरा हो तर, हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ। फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन। फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, तर यहाँ भित्रको गिरोहले ठूलो कुरा बनाएको छ।’
स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उनले बताए। मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा सङ्घीय सरकार सहयोगका लागि तयार रहेको बताए।