काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले हृदयेन्द्र शाहलाई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका छन्। हृदयेन्द्र पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हुन्।
जन्मदिनको शुभकामना दिँदै मिश्रले हृदयेन्द्रलाई एक दिन राजाको रुपमा देख्न चाहेको बताएका हुन्। उनले भनेका छन्, ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना।’
२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले संकटका बेलामात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसदले बाँधेर खोपामा भए पनि राजसंस्था राख्नुपर्ने निष्कर्ष निकालेको उनले उल्लेख गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘२० वर्षको पत्रकारिता, ५ वर्षको राजनीति तथा अन्य अनुभव र अध्ययनले पुर्याएको निष्कर्ष के हो भने– बदलिएको विश्व भूराजनीतिको भूमरी, लगभग पूर्णतः आर्थिक परनिर्भर्ता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ। त्यसैले, संकटका बेलामात्र सदुपयो गर्ने उद्येश्यका साथ संसदले बाँधेर ‘खोपामा भए पनि’ राजसंस्था राखौँ।’
उनले संसदले बाँधेकोलाई थप स्पष्ट पार्न एक उदाहरण प्रस्तुत गरेका छन्ः
एउटा सानो उदाहरणः सन् १९९० मा बेल्जियमका राजा बोदवाँले आफू क्याथोलिक धर्मावलम्वी भएका कारण गर्भपतन सम्वन्धी विधेयक अनुमोदन गर्न मान्दै मानेनन्। त्यसपछि, सरकारले उनलाई कयौँ दिनसम्म राष्ट्रप्रमुखको पदबाट निलम्वन गरी सामान्य नागरिक बनायो। र, संसदले विधेयक अनुमोदन गरेपछि उनलाई पुनः गद्दी आसिन गरायो। त्यस्ता उदाहरण अरू पनि छन्, जुन मेरो प्रकाशोन्मूख पुस्तकमा उल्लेख गरेको छु।’