खोटाङ। खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर आइतबार बिहान गएको भूकम्पका कारण केही घर चर्किएका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) उमेश लम्सालले भूकम्पका कारण केही घर चर्किएको बताए। उनले भने, ‘केन्द्रबिन्दु वरिपरि घरहरु सामान्य चर्किए, तर भत्किएको छैन। के कति घर चर्किए? भन्ने विषयमा हामी खोजी गरिरहेका छौँ।’
तर, भूकम्पले कुनै मानवीय क्षति भने नभएको उनले बताए।
खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेँडाईले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गर्दा क्षतिको विवरण प्राप्त नभएको बताए।
खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर आज बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो।
खोटाङसँगै आसपासका जिल्ला साथै काठमाडौं उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो।