काठमाडौं। आइतबार दिउँसोदेखि निरन्तर परेको वर्षाले छ स्थान खतराको तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङकनुसार पोखरा, वर्दाघाट, दमक, लामपाटन, शक्तिखोर र सुनसरीको तरहरा क्षेत्रमा पानीको सतह बढेसँगे खतराको तह पार गरेको छ।
पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३३१ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। २४ घण्टामा कास्कीमा २७२ मिलिमिटर र चितवनको शक्तिखोरमा १९५ मिलिमिटर पानी परेको छ। विभागले २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ।
विभागले सोमबार बिहानैदेखि देशैभर वर्षा भइरहेको जनाएको छ। भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले उक्त क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी हुन सक्ने, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।