काठमाडौं। तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा एकैपरिवारका ४ जनाको शव फेला परेको घटनामा ‘सुसाइड नोट’ भेटिएको छ।
अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ भेटाएको छ। तर, प्रहरीले ‘सुसाइड नोट’ के लेखिएको छ भन्ने खुलाएको छैन। ‘सुसाइड नोट’ बाहेक दिनेशले केही आफन्तलाई समेत श्रीमतीसितको विवादको विषयमा म्यासेजसमेत गरेको खुलेको छ ।
सोमबार बिहान काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव विभत्स हत्या गरिएको अवस्थामा घरभित्र फेला परेको हो। ४१ वर्षीय दिनेश पाण्डेसहित उनकी श्रीमती ३९ वर्षीया सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिकको शव फेला परेको थियो। श्रीमती, छोराछोरीको शव एक कोठामा र श्रीमान दिनेशको अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन्।
बिहान विद्यालयको गाडी लिन आएको बेला कोही पनि बाहिर ननिस्किएपछि घटनाको रहस्य सार्वजनिक भएको हो।
विद्यालयको गाडीले हर्न बजाउदा बाहिर कोही पनि ननिस्किएपछि छिमेकीले मूल ढोका ढकढक्याए तर कसैले पनि ढोका नखोलेपछि छिमेकीले प्रहरीले खबर गरेका थिए।
पछि प्रहरी आएर ढोका खोल्दा चारजानको शव विभत्स अवस्थामा फेला परेको थियो।
छिमेकीका अनुसार दिनेशले पदमसाल चोकमा मोवाइल पसल सञ्चालन गर्दै आएका थिए। तर, केही दिनअघि मात्रै उक्त पसल बेचेका थिए। गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए।
फेन्सी पसल सञ्चालन गर्दै आएकी उनकी श्रीमती सुनीताले केही दिनमा बेलायत जाने तयारीमा थिइन् र त्यसका लागि भिसा लगाइसकेकी थिइन्।
दिनेशले अत्याधिक मादक पदार्थ सेवन गर्ने र बेलाबेलमा श्रीमान–श्रीमतीबीच झगडा हुने गरेको थियो। पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो।
घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीका अनुसार घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ। र बाहिरबाट मानिस प्रवेश गरेको पनि देखिएको छैन।
घटनाको अनुसन्धान घटनास्थल पुगेर उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र छोराछोरीको हत्या गरर आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।