काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ।
महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूविरुद्व पक्राउ पुर्जी जारी उक्त पार्टीले सरकारलाई हातमा दही जमाएर नबस्ने चेतावनी दिएको हो।
पार्टी प्रवक्ता प्रकाण्डले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्यले आज घटाएको घटना रोकिएन र तीन बुँदे सहमति कार्यान्वय नभए हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने सरकारलाई चेतावनी दिन चाहन्छौं।’
नेताहरुविरुद्व पक्राउ पुर्जी जारी गर्नु सरकार र आफ्नो पार्टीबीच भएको ३ बुँदे सहमतिको उल्लंघन, शान्ति प्रक्रिया भाँड्ने, देशलाई द्धन्द्धतिर धकेल्ने कुरा षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
हेर्नुस्, विज्ञप्तिः
सोमबार ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको थियो।
अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो।
उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ। ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ।
सम्बन्धित समाचारः विप्लवसहित नेताहरूलाई पक्राउ पुर्जी जारी