काठमाडौं। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।
सोमबार पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ।
अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो। तर, त्यतिबेला पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थिएन।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको गिरावटपछि दोस्रो पटक इन्धनको मूल्य घटेर आएको हो।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार यो पटक पनि नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाउनेबारे कुनै छलफल भएको छैन। निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।