काठमाडौं। पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
५ हजार ९०९ नमुना परीक्षण गर्दा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार ६२० जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो।
सोमबार कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। त्यस्तै, सोमबार २६४ संक्रमित निको भएका छन्।
हाल देशभर ४ हजार ९३५ सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ७२ पुगेको छ। त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा ६६ जना संक्रमित थपिएका छन्। भक्तपुरमा सक्रिय संक्रमितको संख्या ३० र ललितपुरमा ५ सय ४३ पुगेको छ।
सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं र ललितपुर रहेका छन्। सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मनाङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, दार्चुला र बाजुरा रहेका छन्।
उपत्यकाका विभिन्न अस्पतालमा १०३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये ३५ जना जनरल वार्डमा, ३१ जना एचडीयूमा, ३२ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा छन् ।