काठमाडौं। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मंगलबार परम्पराअनुसार नागको पूजा गरी मनाइएको छ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।
घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।
नागपञ्चमीका अवसरमा मङ्गलबार काठमाडौँको नक्सालस्थित नागपोखरीमा रहेको नागको प्रतिमामा दूध चढाउन र पूजा गर्न भक्तजनको घुइँचो लागेको थियो।
नागपञ्चमीका दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरले घरको ढोकामाथि नागको चित्र टाँस्ने गरिन्छ। आजकै दिनदेखि वर्षायाम समाप्त भई दिउँदयाम सुरु भएको मानिन्छ।