काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाटै चुनाव उठ्ने बताएका छन्।
सरकारले आगामी मङ्सिरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन गर्ने बताइरहँदा राप्रपाका अध्यक्ष लिङ्देनले झापा ३ मा बाहेक अन्य विकल्प नरहेको प्रस्टाएका छन्।
बिर्तामोडमा बुधबार दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले भने, 'झापा-३ क्षेत्र छोडेर कहाँ जान्छु र ? मेरा देवी देउता त्यहीँ छन्।'
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रसँग चुनावी तालमेल गरी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देनले यसपटक पनि गठबन्धन गरेर निर्वाचनमा जाने संकेत गरेका छन्।
झापा-३ बाट नेपाली कांग्रेसका नेता सिटौला र एमालेबाट दुर्गाप्रसाद प्रसाईँ चुनाव लड्ने तयारी गरिरहेका छन्।