धनगढी । सुदूरपश्चिम प्रदेशसभाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले पारित गरियोस् भनी प्रस्तुत गरेका सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।
यसअघि उक्त संशोधन विधेयकमाथि भएको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री रावलले ऐनमा देखिएको कमीकमजोरीलाई समयमै सुधार गर्न संशोधन गर्नुपरेको बताए।
उनले प्रदेशसभामा रहेका ठूला दलले मात्र सम्मान पाउने र साना दलले नपाउने भन्ने कुरा न्यायोचित र व्यावहारिक नहुने भन्दै ऐन संशोधन गर्दा सोचेअनुसारको र भनिएअनुसारको जस्तो आर्थिक भार नपर्ने स्पष्ट पारे ।