काठमाडौं। सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न सांसदहरुले माग गरेका छन्।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आज संसद् सचिवालयमा बसेको बैठकमा सांसदहरुले एसपीपीमा नेपाल सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका हुन्।
परराष्ट्र र रक्षा मन्त्रालयका प्रतिनिधि उपस्थित नभएकोमा नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले अमेरिकालाई नेपाल एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ गरेर पन्छन खोजेको आरोप लगाए।
त्यस्तै गरी सांसदहरु खेम लोहनी, लक्ष्मी परियार, अनिलकुमार झा, दुर्गा पौडेलले समितिले मागेको कागजपत्र सम्बन्धित मन्त्रालयले समितिलाई उपलब्ध गराउनुपर्नेमा जोड दिए।
समितिका सभापति निरुदेवी जैरुले एसपीपीबारे सरकारले अमेरिकी सरकारलाई पठाएको पत्र पुनः समितिमा माग गर्दै पत्राचार गरिने जानकारी दिइन्।