काठमाडौँ । बर्खायाम लागेसँगै डेंगुको संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) का अनुसार ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएका छन् ।
जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिरामीहरू पाइएको छ भने धादिङमा ५५, संखुवासभामा ३२, बर्दियामा २१ जना बिरामी देखिएका छन् ।
गत साल यही अवधिमा ५ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएका थिए । यसपटक सबैभन्दा बढी डेंगुका बिरामीहरू गएको ३० दिनयता देखिएका छन् । यो महिनामा ३९८ जनामा डेंगु पुष्टि भएको छ ।
यसैगरी काठमाडौँ उपत्यकामा काठमाडौँमा ६१ र ललितपुरमा ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा ३ जना मात्र डेंगुका बिरामी भेटिएको ईडीसीडीले जानकारी दिएको छ । बर्खायाममा किटजन्य रोगहरु डेंगु, मलेरिया, स्क्रब टाइफस आदिको बढी जोखिम हुने गर्दछ ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतीष विष्टले ललितपुरमा असार ९ गते पहिलो केस देखिएको बताउँदै श्रावणसम्म आउँदा संक्रमणदर बढिरहेको बताए । उनका अनुसार धेरैजसो बिरामी महालक्ष्मीस्थान र थसिखेलमा देखिएको छ ।उनले डेंगु संक्रमणको रोकथामका लागि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने काम गरिएको जनाए ।