काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो।
त्यसका लागि तालमेल सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र टुङ्ग्याउने गठबन्धनको तयारी छ।
बैठकपछि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘चुनावमा तालमेल गरेर जाने निर्णय भएको छ। भदौको पहिलो साता तालमेलको निर्णय सक्ने कुरा भएको छ। तालमेलका लागि प्रत्येक दलबाट सहभागी हुने गरी समिति बनाउने निर्णय भएको छ।’
खनालका अनुसार उक्त समिति आजै बन्नेछ। समितिमा प्रत्येक दलबाट कम्तिमा दुई सदस्य रहनेछन्।
सत्ता गठबन्धनले यसअघि बैशाखमा भएको स्थानीय तहको चुनावमा पनि गठबन्धन गरेका थिए।